बालेनको रोष: ‘नानीबाबुहरूले के सिक्छन् बाहरू ?’

प्रदेश-पालिका हेडलाइन

काठमाडौं, चैत्र १६, २०८१
ईप्रेस मिडिया

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार मध्यराति फेसबूकमार्फत आफ्नो आक्रोश व्यक्त गरेका छन्। हिजो काठमाडौंमा भएको समाजवादी र राजावादी शक्ति प्रदर्शनका क्रममा उत्पन्न हिंसात्मक घटनाप्रति लक्षित गर्दै उनले लेखेका छन्, “नानीबाबुहरूले के सिक्छन् बाहरू ?”

शुक्रबार काठमाडौंमा दुई फरक शक्ति प्रदर्शन भएका थिए। समाजवादी मोर्चाले भृकुटीमण्डपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो भने तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन नियन्त्रण बाहिर गएको थियो। तीनकुनेको घटनामा दुई जनाको मृत्यु भएको छ भने केही गाडी र घरमा आगजनी भएको छ। साथै, निजी पसलहरूमा समेत लुटपाट भएको प्रहरीले जनाएको छ।

यसअघि बिहीबार काठमाडौं महानगरपालिकाले शहरमा प्रदर्शन, सभा र सम्मेलन नगर्न सार्वजनिक सूचना जारी गरेको थियो। तर, सो सूचनाको बेवास्ता गर्दै भएको प्रदर्शन र त्यसबाट सृजित हिंसाले मेयर बालेनलाई रोष प्रकट गर्न बाध्य बनाएको देखिन्छ। उनको यो अभिव्यक्तिलाई काठमाडौंमा बढ्दो अशान्ति र हिंसात्मक गतिविधिले भावी पुस्तामा पार्न सक्ने नकारात्मक प्रभावप्रति चिन्ताको रूपमा हेरिएको छ।

हिजोको घटनामा संलग्नहरूउपर कारबाही र क्षतिपूर्तिको माग पनि उठ्न थालेको छ। महानगरले स्थिति नियन्त्रण गर्न थप कदम चाल्ने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *