सर्लाही, पुस ८ गते । नयाँरोड–बरहथवा सडकखण्डअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित धरहरा जङ्गलमा आगजनीबाट जलेको एउटा मोटरसाइकल बरामद भएको छ ।
शनिबार दिउँसोपख जङ्गलमा युवाको समूह झगडा गरिरहेको र मोटरसाइकलमा आगजनी समेत भएको भनी वस्तुभाउ चराउन गएका गोठालाले जानकारी गराएपछि प्रहरी चौकी धरहराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
धरहरास्थित आँप खोल्सी नजिक प्रहरी टोली पुग्दा घटनास्थलमा कोही व्यक्ति फेला नपरेका र मोटरसाइकलमा भने आगो दन्किरहेको पाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेको छ । नम्वर प्लेट समेत जलेकाले मोटरसाइकलको नम्वर खुल्न सकेको छैन । गोठालाले एक युवकमाथि कुटपीट भई उनले हारगुहार मागेपछि आफूहरुले हो–हल्ला गरेर झगडा छुट्याएको बताए पनि आफूमाथि कुटपीट भयो भनी अहिलेसम्म कोही पनि प्रहरी कार्यालयमा नआएका डीएसपी थारुले बताए ।
उनले जलेको मोटरसाइकल प्रहरी चौकीमा ल्याइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

