प्रधानमन्त्री कप: मधेश प्रदेशले सुदूरपश्चिमलाई ४४ रनले हरायो

खेलकुद

काठमाण्डौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४४ रनले पराजित गरेको छ। मंगलबार एक्स्ट्राटेक ओभलमा भएको खेलमा मधेश प्रदेशले पहिले ब्याटिङ गर्दै १०३ रनको लक्ष्य दिएको थियो। तर, सुदूरपश्चिम २९ ओभरमा सबै विकेट गुमाएर ५८ रनमै समेटियो।

सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक १९ रन बनाए। तर, प्रकाश पाण्डे, निश्चल क्षेत्री, किरण ठगुन्ना, शेर मल्ल र मिलन बोहरा शून्य रनमा आउट भए। अन्य ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।

मधेश प्रदेशका बलर विशाल पट्टेलले एक्लै ६ विकेट लिएर खेलको नायक बने। यस्तै, प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनायो। मधेशका लागि प्रदिप पासवान २३ रनमा अविजित रहे। पवन सराफले १९, दिपेश दास र रुपेश सिंहले समान १२-१२ रन जोडे। तर, मयन यादव, कप्तान अनिल साह र सन्नी साह शून्य रनमा पभिलियन फर्किए।

सुदूरपश्चिमका बलर हेमन्त धामी र शेर मल्लले समान ४-४ विकेट लिए। नारायण जोशी र विकास अग्रीले १-१ विकेट हात पारे।

लिग तालिकामा मधेश प्रदेश ७ खेलबाट 4 अंकसहित आठौँ स्थानमा छ। सुदूरपश्चिम भने 8 खेलबाट 6 अंकसहित सातौँ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *