प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता: द्विपक्षीय सहयोगलाई नयाँ उचाइमा पुर्याउने सहमति

राजनीति हेडलाइन

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्कमा रहेका नेपाली प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। सो भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भयो। विशेषगरी व्यापार, पूर्वाधार, जलस्रोत, सीमा विवाद, र पारवहनसँग सम्बन्धित विषयमा दुवै नेताले गम्भीर चर्चा गरेका छन्।

दुवै प्रधानमन्त्रीले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, र रणनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाए। नेपाल र भारतबीचका हालसालै भएका सकारात्मक पहलहरूलाई थप प्रभावकारी बनाउन र सीमावर्ती क्षेत्रका विकास परियोजनाहरूमा सहकार्यलाई तीव्रता दिन दुवै मुलुकका विदेशमन्त्रीहरू र प्रतिनिधिमण्डलका अन्य सदस्यहरू सहभागी रहे।

प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सन्तुलित, सम्मानजनक र आपसी हितको आधारमा अघि बढाउन आग्रह गरेका छन्। यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको पूर्वाधार विकासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आपसी समझदारी र कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने वचन दिए।

भेटमा जलस्रोत व्यवस्थापन, ऊर्जा व्यापार, सीमा समस्या, पारवहन सम्झौता, र हवाई सम्पर्कलाई विस्तार गर्ने विषयमा पनि सकारात्मक छलफल भएको छ। दुवै देशले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने योजनामा सहकार्य गर्ने संकेत दिएका छन्।

ईप्रेस मिडिया
आश्विन ७, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *