प्रधानमन्त्री ओली र कुवेतका राजकुमारबीच द्विपक्षीय सहकार्यका विषयमा छलफल

राजनीति हेडलाइन

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका राजकुमार तथा प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल र कुवेतबीचको आर्थिक, व्यापारिक, र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल भएको थियो। दुवै नेताले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउन आपसी समझदारी र सहकार्यलाई अझ गहिर्याउन सहमति जनाएका छन्।

यस अवसरमा नेपालले कुवेतसँगको लगानी प्रवर्द्धन, पर्यटन, र आपसी आर्थिक सहयोगका क्षेत्रहरूमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।

कुवेतका प्रधानमन्त्रीले नेपालसँगको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई अझै सबल बनाउने विषयमा जोड दिँदै दुवै राष्ट्रबीचको व्यापारिक सहकार्यलाई बलियो बनाउन तयार रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालले ऊर्जा, पूर्वाधार, र पर्यटनजस्ता क्षेत्रमा कुवेती लगानीलाई स्वागत गर्ने बताउँदै, दुबै मुलुकबीचको आर्थिक सहयोगले दुवै देशको समृद्धिमा योगदान पुर्याउने धारणा राखे।

साथै, भेटवार्तामा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुई मुलुकले सहकार्य बढाउने र विकासशील राष्ट्रका मुद्दामा आपसी समझदारीलाई सशक्त बनाउने विषयमा पनि छलफल भयो।

प्रधानमन्त्री ओलीको कुवेतका प्रधानमन्त्रीसँगको यो भेटलाई नेपाल-कुवेत सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण मानिएको छ।

ईप्रेस मिडिया
आश्विन ७, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *