“प्रधानमन्त्री ओलीद्वारा धरहरा तत्काल सञ्चालनमा ल्याउन निर्देशन”

राजनीति हेडलाइन

काठमाडौं, साउन १५ गते – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले धरहराको निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएकाले त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “धरहरा बनेको छ, मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन्। पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर.. पार्किङमा त पैसा तिर्नुपर्छ। गाडी चढेर हिँड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन।”

प्रधानमन्त्री ओलीले “मै बनाउँछु मेरो धरहरा” क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकोले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए। उनले धरहराको लिफ्ट खिया लागेर बस्न दिनु गलत भएको र त्यसलाई छिटोभन्दा छिटो प्रयोगमा ल्याउनुपर्ने बताए। “त्यो लिफ्ट किन खिया लागेर बस्न दिने? दुईदुईवटा लिफ्ट छ त्यहाँ। जवानहरूलाई भर्‍याङ छ। बुढाबुढीलाई लिफ्ट छ। अनि किन सञ्चालन नगर्ने? कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो, कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ,” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताउँदै, अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि सञ्चालनमा ल्याएर आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए। उनले भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए।

प्रधानमन्त्री ओलीको निर्देशनले धरहराको शीघ्र सञ्चालनमा आउने सम्भावना बढाएको छ। यसले धरहरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने र जनताको लगानीको उचित उपयोग हुने विश्वास गरिएको छ। धरहरा सञ्चालनसँगै अन्य संरचनाहरू पनि व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने दिशा दिने प्रधानमन्त्री ओलीको यो कदमलाई धेरैले स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *