काठमाडौं, साउन १५ गते – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरुलाई २६ बुँदे निर्देशन दिँदै सुधार र पारदर्शितामा जोड दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी दिनका लागि स्पष्ट निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी नपाउने अवस्था राम्रो होइन। उनीहरुले ऋण लिएर लगानी गरेका हुन्छन्, हामीले समयमा भुक्तानी नदिने गर्दा उनीहरु मर्कामा पर्छन्। यसरी कृषिको आधुनिकरणमा पुग्न सकिँदैन।’’
प्रधानमन्त्री ओलीका निर्देशनका मुख्य बुँदाहरू:
१. सेवा लिने ठाउँमा ज्येष्ठ नागरिकलाई सहज सेवा प्रदान गरिनुपर्छ। कर्मचारीले सेवा गर्न बसेको हो, शासन गर्न होइन।
२. ढुक्कसँग काम गर्नुस्, यो सरकार स्थायित्वको कार्यभार लिएर आएको छ।
३. राज्यका मन्त्रालय र निकायमा बैठक भत्ता नलिन निर्देशन, मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने।
४. हाल थालिएका काम सम्पन्न गर्नेतर्फ मुख्य ध्यान दिनु।
५. इन्धन आयातको खर्च बचाउन जलविद्युतको विकास र उपयोगमा ध्यान दिनु।
६. सगरमाथाको पानीलाई ब्राण्डिङ गर्न सकिने योजनामा ध्यान दिनु।
७. कुनै पनि कुरामा ढिलासुस्ती नगरी समन्वय बढाउन र प्रम्प्ट रेस्पोन्स दिनु।
८. अनावश्यक समिति र संरचना नबनाउने, कामको परिणाम देखिने गरी गर्ने।
९. देश र जनताका लागि समर्पित भएर काम गर्ने, जिम्मेवारी अर्काेलाई नपञ्छ्याउने।
१०. कार्यसम्पादन र अधिकार प्रत्यायोजन ठिक समयमा गरेर पूर्णरुपमा काम गर्ने पद्धतिमा जानु।
११. दिगो विकासका लक्ष्य पूरा गराउनुपर्ने दायित्वमा हामी छौं, गरिबीको अन्त्य मुख्य निसाना।
१२. सम्पति शुद्धिकरणका जटिलताहरू व्यवस्थित गर्नुपर्छ।
१३. बजेटको अभाव भन्ने कुरा आएको छ, विकास खर्च बढाउन पुँजीगत खर्च पर्याप्त गर्नुपर्छ।
१४. बीमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दूध र उखुको मूल्यको भुक्तानी समयमै दिनु।
१५. निर्माण सम्पन्न भइसकेका कामको ठेकेदारले पैसा नपाउने स्थिति हटाउनु।
१६. आर्थिक अनुशासन पालना गर्दै काम गर्रौँ, अनुदान रकमको दुरुपयोग रोक्न अनुगमन गर्रौँ।
१७. करका दर विस्तारमा उत्साहित नहुनु, बजारलाई चलायमान बनाउने।
१८. धरहरा पुनर्निर्माणमा जनताको सहभागिता सुनिश्चित गर्दै छिटो सञ्चालनमा ल्याउनु।
१९. सरकारको कार्यकालको सय दिनसम्म मन्त्रीहरूले अरुको आलोचना नगरी आफ्नो काम गर्नु।
२०. प्राथमिकताप्राप्त आयोजनाहरू समयमै सम्पन्न गर्नु।
२१. सगरमाथा संवादको तयारीमा लाग्नु।
२२. राष्ट्रिय प्रतिभा पुरस्कारलाई नियमित बनाउनु, प्रतिभालाई प्रोत्साहन गर्नु।
२३. राजमार्गका सडकमा सुरक्षित बिरुवा लगाउने, नयाँ निर्माण गर्दा सुरक्षित डिजाइन गर्ने।
२४. जनता आवास, एकीकृत विकास कार्यक्रमलाई व्यवसायसँग जोडेर सञ्चालन गर्नु।
२५. तरकारीमा विषादिको प्रयोग नगर्ने बारे क्वारेन्टाइन निर्णय तीन महिनाभित्र दिनु।
२६. निजी क्षेत्रलाई साथ लिएर व्यवसायिक क्षेत्रका गुनासा सुन्नु।
प्रधानमन्त्री ओलीले सचिवहरुलाई ढुक्कसँग काम गर्न प्रेरित गर्दै सरकार स्थायित्वको कार्यभार लिएर आएको बताउनुभयो। उहाँका निर्देशनले सरकारका विभिन्न तहमा सुधार र पारदर्शितामा थप जोड दिने अपेक्षा गरिएको छ।

