काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चैत्र १८ मा प्रतिनिधिसभामा सम्बोधन गरेर बाहिरिएका छन् । उनको सम्बोधनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले अवरोध गरेका थिए । संसदको बैठकमा तनाव बढ्ने संकेत देखिए पनि अन्त्यमा भने रोचक दृश्य देखियो ।
बैठककक्षबाट बाहिरिने क्रममा ओलीले अवरोध गर्ने राप्रपाका सांसदहरूलाई हात जोडेर अभिवादन गरे । जवाफमा राप्रपाका सांसदहरूले हाँस्दै उनको अभिवादन फर्काए । यो घटनाले संसदको गम्भीर माहोलमा एक क्षणिक हल्कापन ल्याएको थियो ।
राप्रपाले हालैका दिनमा तीनकुने हिंसा र आफ्ना नेताहरूको पक्राउको विषयलाई लिएर सरकारविरुद्ध आक्रामक रूप देखाउँदै आएको छ । ओलीको सम्बोधनले संसदको अवरोध हटाउने अपेक्षा गरिए पनि राप्रपाको असन्तुष्टि कायम रहेको यो घटनाले देखायो । यद्यपि, अभिवादनको यो साटासाटले राजनीतिक तनावबीच पनि संवादको सम्भावना जीवित रहेको सङ्केत गरेको छ ।

