प्रधानमन्त्रीको प्रश्ताव नमानेपछि उपप्रधानमन्त्री लामिछानेमाथि काँग्रेसले सहकारी ठगीको आरोप लगायोः ओली

राजनीति हेडलाइन

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताउनुभएको छ ।

पार्टीको काठमाडांै महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गर्नुभयो । उहाँले आफूले प्रधानमन्त्री बन्न गरेको प्रश्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले काँग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताउनु भयो । काँग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएपनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाई थियो । उहाँले नेपाली काँग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उसले सत्ता स्वार्थको लागि जे पनि गर्न थालेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले हिजो पनि भने साह्रै अचम्मको कुरा के भने नेपाली काँग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरांै भन्न जान्छ राति । त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ । रातिसम्म त्यो मान्छे काँग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । काँग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो काँग्रेस ? संसद चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसदमा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने । यस्तो लोकतन्त्र हुन्छ कहीँ ? जुन नेपाली काँग्रेसले गरेको छ । र नेपाली काँग्रेस आफू लोकतान्त्रिक शक्ति होइन, सत्ता स्वार्थमा चुर्लुम्म डुबेको, सत्तास्वार्थमा केन्द्रित भएको र न्यायको पक्षमा होइन, जथाभावीको पक्षमा नेपाली काँग्रेस गएको स्पष्ट देखिएको छ । यस स्थितिलाई सच्याउन नेकपा एमाले सुदृढ हुनुपर्दछ । खदिलो हुनुपर्दछ । नेकपा एमाले त्यसका लागि एकतावद्ध हुनुपर्दछ । ’

अध्यक्ष ओलीले काँग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *