काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले प्रतिगमन र निरंकुशता निम्त्याउने आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा उनले यी दुई दलको सहकार्यलाई जनताले अनुमोदन नगरेको दाबी गरे।
प्रचण्डले भने, “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन्। यस्ता गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्,लोकतन्त्रलाई कमजोर बनाएका छन्।”
उनले एमाले-कांग्रेस गठबन्धनले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको र जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गरेको आरोप पनि लगाए। उनले यी दुई दलको सहमतिको तरिका, समय र स्थानबाट आम जनताले उनीहरूको नियत बुझिसकेको बताए।
“नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ?” प्रचण्डले प्रश्न गरे, “झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ?”

