काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन्। महिला संघको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ओलीले कांग्रेसमाथि लगाएको आरोपलाई तर्कसंगत रूपमा खण्डन गरे।
शर्माले कार्यक्रममा भने, ‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले आरोप लगाउनुभयो कि कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो। यो उहाँको आवेगको कुरा हो। म उहाँलाई श्रद्धा गर्छु, तर प्रश्नको उत्तर दिन हामी पछि हट्दैनौं।’
उनले थप स्पष्ट पारे, ‘यो प्रकरणमा २०५२ सालमा एमालेकै सरकार थियो र भूमिसुधार मन्त्री पनि एमालेकै थिए। २०६० सालमा सूर्यबहादुर थापाको सरकार थियो र भूमिसुधार मन्त्री कांग्रेसको थिएन। २०७८ सालमा केपी ओलीकै सरकार थियो। यी सबै निर्णयहरू यी सरकारहरूको पालामा भएका हुन्। कांग्रेसलाई दोष दिनुको सट्टा वास्तविकता बुझ्न आवश्यक छ।’
शर्माले ओलीलाई चुनौती दिँदै भने, ‘म केपी कमरेडलाई भन्न चाहन्छु, कांग्रेसले एक टुक्रा पनि जग्गा बेचेर पैसा खाएको छैन। तपाईं पनि झापाका, म पनि झापाको मान्छे। तपाईंहरू सरकारमा हुनुहुन्छ भने गिरीबन्धुको फाइल खोल्नुस्।’
शर्माले यस मुद्दामा कांग्रेसको स्पष्टताको लागि आवश्यक कदम चाल्न तयार रहेको र एमालेले उठाएका प्रश्नहरूको जवाफ दिन तयार रहेको जनाए।

