काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको समयलाई नेपालमा हरेक क्षेत्रमा लगानी गर्नको लागि सही अवसर भएको बताएका छन्। ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारण सभामा शुक्रबार सम्बोधन गर्दै उनले नेपालमा ठुलो सम्भावना रहेको र इमानदार हिसाबले काम गरे छोटो समयमा धेरै प्रगति गर्न सकिने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले निजी क्षेत्र एक ठाउँमा आएर सामूहिक रूपमा लगानी गर्न सके नेपालमा पर्यटन र जलविद्युतजस्ता क्षेत्रमा ठूलो फड्को मार्न सकिने बताए। उनले हाल रेमिट्यान्सको प्रवाह, फरेन करेन्सी रिजर्भको वृद्धी, र बैंकहरूको लिक्विडिटी प्रशस्त रहेकोले यो समय लगानी गर्नको लागि उपयुक्त रहेको उल्लेख गरे।
उनले भने, “यदि हामी इमानदार हिसाबले काम गर्ने हो भने छोटो समयमा नै ठूलो काम गर्न सकिन्छ। निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्ने हो भने नेपालमा धेरै ठुलो सम्भावना छ। पर्यटनको क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएको छ, रेमिट्यान्सको प्रवाह पनि वृद्धि भएको छ, बैंकहरूको ब्याजदर सिङ्गल डिजिटमा झरेको छ। यो नै नेपालमा लगानी गर्ने सही समय हो।”
अध्यक्ष ढकालले व्यवसायीहरूको नेतृत्व सकारात्मक वातावरण बनाउन सक्षम भएमा लगानीको वातावरण अझ बलियो हुने दाबी गरे। उनले तीन तहका सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए, जसबाट रोजगारी सिर्जना र राजश्व वृद्धि हुने विश्वास व्यक्त गरे।
ईप्रेस मिडिया
आश्विन ४, २०८१

