नेपालको खानेतेल निर्यातमा उल्लेख्य वृद्धि : आठ महिनामा ५६ अर्ब कमाइ !

अर्थतन्त्र हेडलाइन

काठमाडौं, चैत्र १३, २०८१
ईप्रेस संवाददाता

नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेर वैदेशिक व्यापारमा नयाँ उचाइ कायम गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्दै खानेतेल बेच्दा निर्यातमा उल्लेख्य वृद्धि भएको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष आयात ११.२० प्रतिशत र निर्यात ५७.२० प्रतिशतले बढेको छ ।

यो अवधिमा नेपालले कुल १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गरेको छ, जसमध्ये ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ भटमास (सोयाबिन) तेलको हिस्सा रहेको छ । त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाखको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाखको अलैंची र ४ अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ । खानेतेलले नेपालको निर्यातमा ठूलो हिस्सा ओगटेको देखिन्छ ।

यद्यपि, आयातको तुलनामा निर्यात निकै कम रहेकाले व्यापार घाटा भने यथावत् छ । पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाखको वस्तु आयात भएको छ भने १ खर्ब ५८ अर्ब १७ करोड २४ लाखको निर्यात भएको छ । कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख पुग्दा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको व्यापार घाटा बेहोरेको छ ।

छिमेकी मुलुक भारतसँग मात्रै नेपालको व्यापार घाटा ५ खर्ब ६३ अर्ब ६७ करोड रहेको छ । भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोडको आयात भएको छ भने १ खर्ब २५ अर्बको निर्यात भएको छ । चीनसँग पनि २ खर्ब १९ अर्ब १८ करोडको आयात र २ अर्ब १२ करोडको निर्यात हुँदा २१ अर्ब ७० करोडको घाटा देखिएको छ । यस्तै, अर्जेन्टिना, युक्रेन, यूएई, अस्ट्रेलियालगायतका मुलुकसँग पनि व्यापार घाटा उच्च छ । तर, अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रियालगायत ३४ मुलुकसँगको व्यापारमा नेपाल नाफामा रहेको छ ।

आयाततर्फ पेट्रोलियम पदार्थको हिस्सा ठूलो छ । यो अवधिमा ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्बको एलपी ग्यास आयात भएको छ । साथै, ९ अर्ब ६९ करोड २२ लाखको विद्युतीय सवारीसाधन र २१ अर्ब ९१ करोड ८३ लाखको १४ लाख ७ हजार ७८ वटा स्मार्टफोन आयात भएको तथ्याङ्क छ ।

खानेतेल निर्यातको यो सफलताले नेपालको अर्थतन्त्रमा सकारात्मक सङ्केत देखाए पनि व्यापार घाटा न्यूनीकरणका लागि थप प्रयास आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *