काठमाडौँ / सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१’ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था गरेको छ। यससँगै, नेपालमा पहिलो पटक नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई पनि पुँजीबजारमा खरिदबिक्री गर्न सकिने भएको हो। यस कदमले पुँजीबजारको विकास र वित्तीय पहुँचलाई व्यापक बनाउने अपेक्षा गरिएको छ।
दोस्रो बजारमा बचतपत्रको कारोबार कसरी हुन्छ?
यस नयाँ व्यवस्थाले ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र ‘इन्भेष्टर पोर्टल’ को माध्यमबाट नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको कारोबारलाई सुलभ बनाएको छ। अब यी बचतपत्रको दोस्रो बजार कारोबारलाई पुँजीबजारमा हुने शेयर कारोबार जस्तै व्यवस्थापन गर्न सकिनेछ।
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई कारोबार गर्नका लागि डिजिटल माध्यमबाट अनलाइनमा लगानीकर्ताले आफ्ना विवरण प्रविष्ट गरेर रजिष्ट्रेशन गर्नेछन्। त्यसपछि उनीहरूलाई युजरनेम र पासकोड प्राप्त हुनेछ, जसका माध्यमबाट उनीहरूले दोस्रो बजारमा बचतपत्रको खरिदबिक्री गर्न सक्नेछन्।
खरिदबिक्रीको प्रकिया
सरकारले वार्षिक आन्तरिक ऋण उठाउने कार्यतालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द र निष्कासन हुनेछन्। कुनै पनि व्यक्तिले यी बचतपत्र खरिद गर्न चाहने अवस्थामा निश्चित समयभित्र आवेदन दिनुपर्नेछ, र आवेदनहरूको प्राथमिकताको आधारमा वितरण हुनेछ।
व्याजको हकमा, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको व्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। व्याज भुक्तानी सीधै खरिदकर्ताको बैंक खातामा जम्मा गरिनेछ। व्याज गणना गर्दा ३० दिनलाई एक महिना र ३६० दिनलाई एक वर्ष मान्ने गरिएको छ।
त्यस्तै, व्याज भुक्तानी मितिको एक कार्यदिन अगाडिदेखि दोस्रो बजार कारोबारबाट स्वामित्व हस्तान्तरण गर्न पाइने छैन।
बचतपत्रको कारोबारमा बैंकहरूको भूमिका
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरूलाई सरकारी ऋणपत्र र बचतपत्रको कारोबारका लागि ‘बजार निर्माता’ का रूपमा इजाजत दिइनेछ। यस्तै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निश्चित कम्पनीहरूलाई बिक्री एजेन्टका रूपमा काम गर्न इजाजत दिने व्यवस्था पनि गरेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूलाई बचतपत्र कारोबारमा सक्रिय भूमिका खेल्न थप अवसर प्रदान गर्नेछ।
यस्तै, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीलाई पनि बिक्री एजेन्टका रूपमा काम गर्न इजाजत दिने व्यवस्था रहेको छ।
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमा गैरआवासीय नेपालीको सहभागिता
यस कार्यविधिले गैरआवासीय नेपालीहरूलाई पनि नागरिक बचतपत्र खरिद गर्ने अधिकार दिएको छ। यसले विदेशमा रहेका नेपालीहरूले नेपालमा आफ्नो रकम लगानी गर्ने र नेपालसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउने अवसर दिनेछ।
नयाँ कार्यविधिले पुँजीबजारलाई थप विविधीकरण र विस्तार गर्नेछ। दोस्रो बजारमा बचतपत्रको कारोबार सम्भव भएपछि लगानीकर्ताले यसलाई वित्तीय साधनको रूपमा उपयोग गर्न सक्नेछन्। यसले नेपालमा वित्तीय प्रविधि र पुँजीबजारको विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
ईप्रेस मिडिया, असोज १०, २०८१

