काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी विरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाई हुने भएको छ। चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको हो।
गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो। सरकारको उक्त कदम विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहरा की पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो।
सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो। तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो। त्यसपछि आएको पूर्णपाठमा सर्वोच्चले अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख गरेको थियो।

