काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। संसदीय दलको बैठकले यो निर्णय गरेको हो। यसअघि रञ्जिता श्रेष्ठ दलको नेता हुँदा प्रचण्ड सरकारलाई समर्थन गरेको नाउपाले दलको नेताबाट श्रेष्ठलाई हटाएसँगै समर्थन फिर्ता लिने निर्णय गरेको हो।
केही समयअघि नाउपाका नेता रेशम चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर वर्तमान सरकारबाट समर्थन फिर्ता लिने र एमाले-कांग्रेसको सरकारमा सहभागी हुने बताइसकेका थिए।
यसअघि नै नेकपा एमाले र जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदै छन्। यो घटनाक्रमले प्रचण्ड सरकारको भविष्य थप अनिश्चित बनाएको छ।

