दैनिक हजारौं युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्नुपर्छः अध्यक्ष ढकाल

अर्थतन्त्र विचार-वार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौ जनशक्ति बाहिरिएको अवस्था रहेको बताउनु भयो । उहाँले दैनिक हजारौं युवाहरु विदेशिनुको कारण सरकारको कमजोरी रहेको बताउनु भयो । उहाँले नेपालमा चरम बेरोजगारी भएपनि नेपाली उद्योगहरुमा श्रमिकको अभावको कारण भारत र बंगलादेशबाट श्रमिकहरु ल्याएर काम लगाउनुपरेको बताउनु भयो । उहाँले सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगरेकाले समस्या आएको बताउनु भयो । उहाँले वन मन्त्रालयले वन,भौतिक पूर्वाधारले पूर्वाधार,अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गर्ने गरेकोले धेरै विद्यार्थी र युवाहरु बाहिर जान बाध्य भएको दाबी गर्नुभयो । अध्यक्ष ढकालले हजारौ युवाहरुसँग नेपालको अबौं विदेशी मुद्रा बाहिरिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,‘ हरेक दिन हजारौं मानिसहरु विदेश गइरहेका छन् । नेपालका उद्योगहरुलाई श्रमिक आवश्यक परेको छ । श्रमिकहरु नपाएर भारत र बंलादेशबाट श्रमिक ल्याएर काम लगाइ रहेका छौं । एक तिर नेपालमा चरम बेरोजगारी छ । बेरोजगारी छ भन्दै गर्दा बाहिरबाट मान्छेहरु ल्याएर काम गराउनुपरेको छ । सबैको सहकार्यमा दक्ष जनशक्ति नेपालमा नै राख्ने गरी काम गर्नु आवश्यक छ । तर अहिले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने गरेका छन् । वनको मान्छेले वनका मात्रै, भौतिक पूर्वाधार मन्त्रालयले पूर्वाधारका मात्रै  काम गरेको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गरेको छ । नेपालका यति धेरै विद्यार्थीहरु बाहिर गएका छन् । त्यति नै विदेशी मुद्रा बाहिरिएको छ । १ लाख ५४ हजार १ लाख १० हजारले एनओसी लिइसक्यो । धेरै मानिसहरु बाहिर जाने भए । सरकारले यसलाई तत्काल करेक्शन गर्नुपर्छ । अहिले देशको आवश्यकता के हो ? भनेर त्यही अनुसार निर्णय गर्नु जरुरी छ । उद्योग वाणिज्य महासंघले श्रम शक्ति स्वदेशमा नै राख्ने गरी काम गरिरहेको छ । सिटिभिटि तथा चिकित्सा शिक्षा आयोगले पनि आफ्ना मात्रै कुरा गर्नुभयो ।’

उहाँले सरकारले समयमा नै विचार गरेर दैनिक हजारौ नेपाली युवाहरु विदेश जाने क्रमलाई तत्काल करेक्शन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले अहिले देशको आवश्यकतालाई हेरेर निर्णय गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो ।
समिति महासंघका कार्यकारी सदस्य सभापतिमा गोपाल खनाल,उपसभापतिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी,मधुकर पाण्डे,उप्रन्द्र शर्मा घिमिरे र सदस्यहरुमा प्रकाश पाण्डे, नारायण प्रसाद पौडेल,निर्मल सापकोटा र अनिल पराजुली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *