दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई बेल्जियन प्रहरीले मङ्गलबार गोली हानेर मार्‍यो

खेलकुद

ब्रसेल्स– दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई बेल्जियन प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् । 

मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ती व्यक्तिमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण उनको मृत्यु भएको बताइएको छ । 

‘ब्रसेल्सको आतङ्कवादी हमलाको अपराधी पहिचान भयो र उसको मृत्यु भयो,’ आन्तरिक मामिलामन्त्री एन्नेलिस भर्लिन्डेनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सोमवार राति र मंगलवार बिहान द्रुत र निर्णायक काम गरेकामा हामी जासुसी र सुरक्षा सेवाका साथै सरकारी वकिलहरूलाई धन्यवाद दिन्छौँ ।’

यसअघि प्रधानमन्त्री अलेक्जेन्डर डी क्रूले संदिग्ध हत्यारा ट्युनिसियाली मूलको रहेको र ऊ गैरकानूनीरूपमा बेल्जियममा बस्दै आएको बताएका थिए । दुई स्विडिस नागरिकको हत्या गरेपछि बन्दुकधारीले सामाजिक सञ्जालमार्फत आफू इस्लामिक स्टेट चरमपन्थी समूहबाट प्रेरित भएको बताएका थिए । 

‘सो आतङ्कवादी हमला कायरतापूर्ण थियो, आतङ्ककारीले दुई स्विडिस फुटबल प्रशंसकलाई निशाना बनाएको थियो,’ तेस्रो व्यक्ति ट्याक्सी चालक गम्भीर घाइते भएको जानकारी दिँदै प्रधानमन्त्री क्रूले पत्रकार सम्मेलनमा भने ।

‘आतङ्कवादले अन्धाधुन्ध आक्रमण गर्छ,’ उनले भने, ‘आतङ्कवादको उद्देश्य हाम्रो समजमा डर, अविश्वास र विभाजन उत्पन्न गर्नु हो, आतङ्कवादीलाई थाहा हुनुपर्छ उनीहरूले कहिल्यै आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन्, उनीहरूले हामीलाई कहिल्यै झुकाउन सक्दैनन्, तिनीहरूको घृणा र हिंसाले उनीहरूको शक्तिहीनता मात्र प्रमाणित गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *