काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकारले आफूलाई जिउँदै छोड्नु नै ठूलो जित भएको बताएका छन् । सोमवारदेखि पार्टीको जिम्मेवारीमा फर्किएका लामिछानेले केन्द्रीय समिति बैठकअघि आयोजित पत्रकार सम्मेलनमा सरकारको षड्यन्त्र अझै नसकिएको भन्दै कडा चुनौती दिए ।
“सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन । म जुनसुकै तराजुमा तौलिन तयार छु । अदालतको आदेशको अपव्याख्या गरिएको छ । दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही मेरो जित हो,” उनले भने । “यो डराउँछ भन्ने लागेको होला, तर म लड्छु । लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ । थप मुद्दा लगाउनु छ भने लगाओस् ।”
लामिछानेको पार्टी जिम्मेवारीमा फर्कने सूचना पाएपछि रास्वपाको कार्यालयमा उनको स्वागतका लागि पार्टी सदस्य र शुभचिन्तकहरूको बाक्लो भीड लागेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको सांसद पद हाल निलम्बनमा छ र अदालतमा उनको मुद्दा विचाराधीन छ । तैपनि उनले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने निर्णय लिएका छन् ।
यसअघि पुस ८ गते रास्वपाले लामिछानेको अनुपस्थितिमा उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सहकारी घोटाला प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै आएका छन् । उनको यो पुनरागमनले रास्वपाको आन्तरिक गतिविधि र राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ ।

