दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्रा आजबाट किलोमा दुई सय ५० रूपैयाँ घटाइयो

अर्थतन्त्र हेडलाइन

काठमाडौं । दसैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।

दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्रा आजबाट किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्यांग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रूपैयाँमा बिक्री थालिएको व्यापारीहरूले बताए ।

बझाङबाट ल्याइएको नेपाली च्यांग्रा प्रतिकिलो नौ सय रूपैयाँमा बिक्री भइरहेको र चिनियाँ च्यांग्रा प्रतिकिलो एक हजार एक सय रूपैयाँमा बिक्री भइरहेको छ ।

च्यांग्रा व्यापारी उत्तम खड्गीका अनुसार मुस्ताङमै महँगो तिर्नुपरेकाले च्यांग्राको मूल्य बढेको थियो। तर आजबाट मूल्य घटाएको उनले बताए।

‘चीनबाट ल्याइएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट किन्दा किलोमा नभइ गोटामा हिसाब हुन्छ। गोटाको ३५ हजारदेखि ४० हजारसम्म रूपैयाँ तिर्नुपरेकाले यस वर्ष च्यांग्रा महँगो भएको हो ’ उनले भने ।

च्यांग्राको तयारी मासुको मूल्य पनि घटेको छ। सल्लाघारीको चौरमा च्यांग्राको तयारी मासु किलोको दुई हजार ८०० रूपैयाँमा व्यापारीले बिक्री गर्दै आए थिए। आजबाट भने दुई हजार ५०० रूपैयाँ किलोमा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् ।

उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीहरूले खसी आजबाट प्रतिकिलो ६०० रूपैयाँमा बेच्न थालेका छन् ।

यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा र च्यांग्रा ल्याइएको व्यापारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *