काठमाडौं: नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान खसेका दुई यात्रुवाहक बसको खोजी कार्य शनिबार बिहानैदेखि पुनः सुरु गरिएको छ। शुक्रबार दिनभर खोजी गर्दा पनि बस फेला नपरेपछि राति स्थगित गरिएको थियो।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बसको पर्दा र १० वर्षमुनिका बालकले लगाउने ट्रायक सुट त्रिशूली नदीमा फेला परेको छ। यसले बस दुर्घटनास्थल आसपासमै रहेको हुनसक्ने अनुमान गरिएको छ।
आजको खोजी कार्यमा पानीभित्र गएर खोजी र उद्धार गर्न तालिमप्राप्त नेपाली सेना र सशस्त्र प्रहरी बलका गोताखोरसहितको दक्ष टोली खटिएको छ। उनीहरूले त्रिशूली नदीको गहिराइमा पुगेर बसको खोजी गर्नेछन्।
शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोले वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई त्रिशूली नदीमा बगाएको थियो। दुर्घटनामा परेका बसहरूमा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।

