काठमाडौं: वर्षौंदेखि परीक्षाफलको प्रतीक्षामा रहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूका लागि खुसीको खबर! अब त्रिविमा परीक्षा दिएको ९० दिनभित्रै नतिजा प्रकाशित हुने भएको छ।
नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले विद्यार्थीहरूलाई छिटो नतिजा दिने उद्देश्यले नयाँ शैक्षिक क्यालेन्डर तयार पारेका हुन्। यस क्यालेन्डरलाई शुक्रबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले स्वीकृत गरेको छ।
नयाँ क्यालेन्डरअनुसार २०८१ वैशाखदेखि सञ्चालन भएका परीक्षाहरूको नतिजा ९० दिनभित्रै सार्वजनिक गरिनेछ। आगामी मंसिरदेखि यस क्यालेन्डरअनुसार त्रिविका सबै शैक्षिक गतिविधि सञ्चालन हुनेछन्।
उपकुलपति बरालले त्रिविका शैक्षिक गतिविधि अब समयमै सञ्चालन हुने र परीक्षाफल ढिलासुस्तीको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। यो निर्णयले वर्षौंदेखि नतिजाको प्रतीक्षामा रहेका हजारौं विद्यार्थीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

