ई-प्रेस, काठमाडौँ
चैत्र १५, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान शुक्रबार करिब ४५ मिनेट अवरुद्ध भएपछि अहिले नियमित रूपमा सञ्चालनमा आएको छ। विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका समर्थकहरूले सवारी साधन, कार्यालय र भौतिक संरचनामा आगजनी गरेपछि सुरक्षाको कारण देखाउँदै उडान र अवतरण रोकिएको थियो।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले ई-प्रेससँग कुरा गर्दै भने, “प्रदर्शनकारीले विमानस्थल क्षेत्र वरपर आगजनी गरेका कारण उडान र अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो। अहिले स्थिति सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्।”
आगजनीका कारण उडान अवरुद्ध भएको समयमा त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएका जहाजहरूलाई भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ट’ गरिएको थियो। महाप्रबन्धक निरौलाले थपे, “अहिले सबै जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रूपमा अवतरण गरिरहेका छन्।”
प्रदर्शनकारीको उग्र गतिविधिका कारण विमानस्थल क्षेत्रमा तनाव सिर्जना भएको थियो। सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान सञ्चालनमा ल्याइएको प्रहरी स्रोतले जनाएको छ। विमानस्थल आसपासको क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
यो घटनाले काठमाडौँको प्रमुख हवाई मार्गमा छोटो समयका लागि ठूलो असर परेको देखिएको छ। प्रहरीले आगजनीमा संलग्न प्रदर्शनकारीको खोजी र कारबाही प्रक्रिया अगाडि बढाएको बताइएको छ। थप जानकारीको प्रतीक्षा गरिएको छ।

