काठमाडौं, चैत्र १६, २०८१
तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले नेपाली सेनाका पूर्वक्याप्टेन मुनीन्द्र राजभण्डारीलाई पक्राउ गरेको छ। राजावादी आन्दोलनका लागि गठित ‘रोयल टास्क फोर्स’ का कमान्डर राजभण्डारीलाई प्रहरीको विशेष टोलीले शनिबार बिहान बालाजुबाट गिरफ्तार गरेको एक प्रहरी अधिकारीले जनाएका छन्।
दुर्गा प्रसाईंको नेतृत्वमा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो। उक्त घटनामा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने करोडौं मूल्यको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रदर्शनमा आगजनी, तोडफोड र लुटपाट भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले कर्फ्यु लगाएको थियो।
घटनापछि मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं फरार छन् र प्रहरीले उनको खोजी तीव्र पारेको छ। पक्राउ परेका राजभण्डारी यसअघि पनि प्रसाईं नेतृत्वका अराजक गतिविधिमा संलग्न थिए। गत वर्ष मंसिरमा प्रसाईं समूहले गरेको प्रदर्शनमा पनि उनी पक्राउ परेका थिए। प्रहरीका अनुसार शुक्रबारको तीनकुने प्रदर्शनमा राजभण्डारी सक्रिय रूपमा सहभागी थिए।
प्रहरीले हिंसामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने क्रम जारी राखेको छ। हालसम्म १०५ जना पक्राउ परिसकेका छन् भने घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरिएको छ। यस्तै, सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पनि अनुसन्धान शुरू गरेको र उनको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ।
यो घटनाले राजावादी आन्दोलन र गणतन्त्र पक्षधरबीचको तनाव थप बढ्ने संकेत गरेको छ।

