ट्रम्प प्रशासनद्वारा यूएसएडको ‘पुनर्गठन’ घोषणा, सहायता कटौती र विवाद

अन्तराष्ट्रिय विचार-वार्ता

काठमाडौं, चैत्र १६, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (यूएसएड) लाई प्रभावकारी रूपमा ‘पुनर्गठन’ गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०२५ को जुलाई १ सम्ममा यूएसएडका केही कार्यहरू विदेश मन्त्रालयमा समेट्ने र प्रशासनको प्राथमिकतासँग मेल नखाने बाँकी कार्यक्रमहरू बन्द गर्ने योजना रहेको उल्लेख गरेका छन्।

“दुर्भाग्यवश यूएसएडका कार्यक्रमहरूमा लाभ धेरै कम र लागत अत्यधिक थियो। यो संस्था आफ्नो मूल अभियानबाट धेरै अघि नै भट्किसकेको थियो,” रुबियोले भने। उनले यो पुनर्गठनले अमेरिकी करदाताको पैसा ‘अमेरिका फर्स्ट’ नीतिसँग मेल खाने गरी प्रयोग हुने दाबी गरे।

ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि ९० दिनका लागि वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेश जारी गरेका थिए। त्यसपछि यूएसएडका धेरैजसो कार्यक्रममा ठूलो कटौती गरिएको थियो, यद्यपि महत्त्वपूर्ण मानवीय सहायताका लागि सीमित छुट दिइएको थियो। सन् १९६१ मा अमेरिकी कङ्ग्रेसद्वारा स्थापित स्वतन्त्र एजेन्सीको यो अवस्थाले कर्मचारी र सहायता क्षेत्रमा आलोचनाको लहर ल्याएको छ।

डेमोक्र्याटको कडा विरोध

विदेश सम्बन्धसम्बन्धी सिनेटका डेमोक्र्याट सांसदहरूले यो कदमको कडा निन्दा गरेका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो पुनर्गठनले यूएसएडका कुनै पनि कार्यक्रम कार्यान्वयन गर्न असम्भव बनाउनुका साथै विदेश मन्त्रालयको मूल मिसनमा गम्भीर अवरोध सिर्जना गर्नेछ। यो प्रस्ताव गैरकानुनी, खतरनाक र गलत छ।” उनीहरूले यूएसएडको स्वतन्त्रता समाप्त गर्न कङ्ग्रेसको सहमति आवश्यक रहेको तर्क गरेका छन्।

यूएसएडको अवस्था र कर्मचारी कटौती

यूएसएडले बन्द हुनुअघि वार्षिक ४३ अर्ब डलरको बजेट व्यवस्थापन गर्दै विश्वको ४० प्रतिशतभन्दा बढी मानवीय सहायता प्रदान गर्दै आएको थियो। तर ट्रम्प प्रशासनले पदभार ग्रहण गर्नासाथ अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखेको थियो। शुक्रबार कर्मचारीहरूलाई पठाइएको पत्रमा यूएसएडका कार्यवाहक प्रमुख जेरेमी लेविनले विदेश मन्त्रालयले आगामी महिनाहरूमा संस्थाका अधिकांश स्वतन्त्र कार्यहरू बन्द गर्ने योजना बनाएको जानकारी दिएका छन्। पत्रमा कानुनले आवश्यक नठानेका सबै रोजगारी हटाउने उल्लेख छ।

यो कदमले अमेरिकी वैदेशिक सहायता क्षेत्रमा ठूलो हलचल ल्याएको छ। यूएसएडले विश्वभर स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा र आपतकालीन सहायता प्रदान गर्दै आएको थियो। यसको पुनर्गठन र सहायता कटौतीले गरिबी, रोग र प्राकृतिक प्रकोप प्रभावित देशहरूमा ठूलो सङ्कट निम्त्याउने चिन्ता व्यक्त गरिएको छ। डेमोक्र्याट सांसदहरूले यो कदमले अमेरिकाको विश्वव्यापी प्रभाव र सुरक्षामा समेत नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यो पुनर्गठन ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको हिस्सा हो, जसलाई उनको सल्लाहकार एलन मस्कले समेत समर्थन गरेका छन्। तर, कङ्ग्रेसको स्वीकृतिबिना स्वतन्त्र एजेन्सी बन्द गर्नु कानुनी रूपमा चुनौतीपूर्ण हुने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *