काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो ।
इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो । मोहम्मदीलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ । इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ। उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन्। मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ।
नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।
अहिले पनि ५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको छ । गत वर्ष बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । रुस र युक्रेनको मानवअधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई शान्ति तथा प्रजातन्त्रका लागि नागरिक समाजको महत्त्वलाई प्रदर्शित गरेको भन्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
पहिलो पटिक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने यही अक्टोबर ९ मा घोषणा हुनेछ ।

