चैत्र १६, २०८१
ePress Media
काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो पदबाट राजीनामा दिएका छन्। विश्वविद्यालय स्रोतका अनुसार, विभिन्न राजनीतिक दल निकट प्राध्यापक समूहहरूबाट निरन्तर अनुचित र व्यक्तिगत स्वार्थ प्रेरित दबाब तथा कुलपति एवं प्रधानमन्त्रीबाट समेत पर्याप्त सहयोग नपाएपछि उनले राजीनामा बुझाएका हुन्।
स्रोतले जनाएअनुसार, उपकुलपति बरालले विश्वविद्यालयको हितविपरीतका दलीय प्राध्यापकहरूका मागहरू पूरा गर्न अस्वीकार गर्दै अडान लिएका थिए। तर, नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नयाँ सत्ता गठबन्धन बनेपछि परिस्थिति बदलियो। बराललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेको भन्दै एमाले र कांग्रेस निकट प्राध्यापकहरूले असहयोग गर्न थालेको र दबाब बढाएको आरोप छ। पछिल्लो समय माओवादी केन्द्र निकट प्राध्यापकहरू पनि उनीहरूसँगै मिल्न थालेको बताइन्छ। यसैबीच, उपकुलपति बरालले छानेका रजिष्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले समेत महत्वपूर्ण निर्णयहरूमा असहयोग गर्न थालेपछि बराल एक्लिएको स्रोतको दाबी छ।
यसका अतिरिक्त, विश्वविद्यालयमा रहेका करिब ४०० करार अध्यापकहरूले पनि आफूहरूलाई स्थायी प्रक्रियामा लैजानुपर्ने भन्दै निरन्तर दबाब दिइरहेका थिए। सर्वोच्च अदालतले खुला प्रतिस्पर्धाबाट मात्र उपप्राध्यापक नियुक्ति गर्नुपर्ने फैसला गरे पनि, विभिन्न दल निकट भई करार सेवामा प्रवेश गरेका यी अध्यापकहरूले आफ्नो संख्याको बलमा विज्ञापन खुलाउन र स्थायी हुन दबाब दिएका थिए, जसले उपकुलपतिलाई थप अफ्ठ्यारो पारेको थियो।
त्यस्तै, विगतमा आन्दोलनमार्फत स्वतः स्थायी भएका करिब १३०० ‘जुसे करार’ भनेर चिनिने उपप्राध्यापकहरूले पनि आफूहरूलाई तत्काल सहप्राध्यापकमा बढुवा गर्न र विश्वविद्यालयले हटाइसकेको पेन्सन प्रणालीमा पुनः समावेश गर्न दबाब दिएको स्रोत बताउँछ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट समेत अपेक्षित सहयोग नपाएको स्थितिलाई राजीनामाको अर्को कारण मानिएको छ। स्रोतका अनुसार, ओली प्रधानमन्त्री भएलगत्तै बसेको सिनेट बैठकमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक बजेट पास नगरी नीति तथा कार्यक्रम मात्र पारित गरिएको थियो, जसले सुरुदेखि नै असहजता सिर्जना गरेको थियो। यी समग्र दबाब र असहयोगका कारण उपकुलपति बरालले पदमा निरन्तरता दिन नसक्ने निष्कर्षमा पुगेको बताइएको छ।

