काठमाडौं, साउन १६ गते – गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरे।
बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरीकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि गृहमन्त्री लेखकले जवाफमा यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले कर्मचारीहरूको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डीआईजी केसीलाई योग्यतम् ठाउँमा लगिएको बताए।
गृहमन्त्री लेखकले भने, “सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ। जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो। र योग्यतम् ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो। प्रहरी राम्रो बनाउनु पर्यो। अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डीआईजी गएर इन्स्पेक्टर त आएको होइन। अर्को डीआईजी आउनुभएको छ। त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिन म आग्रह गर्दछु।”
गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिबद्ध रहेको बताए।
डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्दै गृहमन्त्री लेखकले सरुवा र बढुवा नियमित प्रक्रिया भएको स्पष्ट पारे। उनले योग्य व्यक्ति हुने ठाउँमा सरुवा गरिने र यसलाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने बताए। साथै, सदाचार नीति लागू गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

