ईप्रेस मिडिया, चैत्र १६, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सत्ता गठबन्धनभित्र गम्भीर असमझदारी र तानातान चलिरहेको बताएका छन्। प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्ने क्रममा उनले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेका बेला योग्य र सक्षम नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
प्रचण्डले गठबन्धनभित्र व्यक्तिगत स्वार्थ हावी भएको संकेत गर्दै भने, “कुरा ‘को मेरो मान्छे, को तेरो मान्छे’ र कसको नियुक्तिले कति फाइदा हुन्छ भन्नेमा केन्द्रित छ। राष्ट्रको हितलाई प्राथमिकता नदिएर व्यक्तिगत लाभ मात्र हेर्ने सोचले अर्थतन्त्रको सुधार सम्भव छैन।”
अर्थतन्त्रको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उनले गठबन्धनका नेताहरूलाई स्वार्थभन्दा माथि उठेर सही व्यक्तिको चयनमा एकमत हुन आग्रह गरेका छन्।

