कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिदैँ

राजनीति हेडलाइन

विराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज शनिबार विश्वासको मत लिदैँछन् ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

९३ सदस्सीय काशी प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक हुन्छ । एमालेको उपसभामुखसहित ४०, प्रतिपक्षी दल नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जनता समाजवादीका एकजना सदस्य रहेका छन् ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइले बताए । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर जाने बताए ।

निर्वाचनमा सहकार्य गर्दै र एमालेसँग सत्ता साझेदार गर्दै आएको राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि एमालेले बहुमत पुर्‍याउने भएमा मात्रै समर्थन गर्न सकिने यसअघि नै बताएका थिए ।

यसअघि प्रदेश सभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए । तर, यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहेको छ ।

मुख्यमन्त्री कार्की कांग्रेस, माओवादी र एकीकृत समाजवादीमध्ये कुनै एउटा दलको साथ लिएर विश्वासको मत प्राप्त गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *