कैलाशप्रसाद ढुङ्गेलको चेतावनी: ‘मरिसकेको राजतन्त्र’ फर्काउने सपना नदेख्नुस्

राजनीति हेडलाइन

काठमाडौं, चैत्र १६, २०८१

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले राजावादीहरूलाई ‘मरिसकेको राजतन्त्र’ पुनर्जनम गर्ने सपना नदेख्न आग्रह गरेका छन्। शनिबार रामेछापमा राष्ट्रिय युवा सङ्घ नेपाल रामेछाप नगरपालिका कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिए।

ढुङ्गेलले विकास विरोधी नवराज सुवेदीलाई ‘गनाउने सिद्रा’ को संज्ञा दिँदै उनलाई बोकेर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र फर्काउने कुनै सम्भावना नरहेको बताए। “रामेछापको विकास रोक्ने, जनतालाई भरियाको युगबाट माथि उठ्न नदिने नवराज सुवेदीलाई साथ लिएर राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ,” उनले भने।

उनले अबको लडाइँ राजावादी र गणतन्त्रवादीबीचको अन्तिम लडाइँ भएको दाबी गर्दै राजावादीको हिंसाको जवाफ कडा रूपमा दिने चेतावनी दिए। “व्यक्तिको घर फोर्ने, पत्रकारलाई ज्युँदै जलाउने, पसल लुट्ने, रक्सी र फलफूल लुट्ने यस्ता मान्छेसँग राजावादीहरू कता जाँदै छन्?” उनले प्रश्न गरे।

ढुङ्गेलले अराजकता मच्चाउनेहरूमाथि कडा कारबाहीको माग गरे। “लुटेरा जम्मा गरेर अराजकता फैलाउने पूर्वराजा ज्ञानेन्द्रलाई पूर्जी काटेर जेलमा हाल्नुपर्छ। नवराज सुवेदीलाई गोलघरमा थुन्नुपर्छ। यो व्यवस्थाभित्र बसेर व्यवस्थाविरुद्ध लाग्ने राप्रपाका नेताहरूलाई जेल हाल्नुपर्छ। दुर्गा प्रसाईँलाई हतकडी लगाएर ल्याउनुपर्छ,” उनले भने।

राजनीति गर्न सजिलो भए पनि टिक्न कठिन भएको बताउँदै ढुङ्गेलले समाजवादको बाटो सुखको बाटो नभएको र रक्सी खाएर लडखडाउनेहरूले यो बाटो हिँड्न नसक्ने स्पष्ट पारे। उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने एकमात्र पार्टी नेकपा एमाले भएको दाबी गर्दै नेता-कार्यकर्तालाई पार्टीप्रति गर्व गर्न र एमालेलाई शिर ठाडो पारेर बोक्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *