चैत १५ — राजावादी प्रदर्शनकारीहरूको उग्रताका कारण काठमाडौं जिल्ला प्रशासनले कर्फ्युको अवधि थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरेका छन्।
यसअघि, प्रशासनले तीनकुने क्षेत्र तथा आसपासका इलाकामा आज राति १० बजेसम्म कर्फ्यु लगाएको थियो। तर प्रदर्शनकारीहरूको उग्र व्यवहार र तोडफोड जारी रहँदा यो निर्णय लिइएको हो। कर्फ्यु क्षेत्रमा शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान समावेश छन्।
प्रहरी प्रवक्ता कुवेर राणाका अनुसार, “कर्फ्यु जारी भएपछि पनि केही समूहले तोडफोड र आगजनी जारी राखेका छन्। सुरक्षा बलले यी घटनाको नियन्त्रणमा लिन कडा कदम चालिरहेको छ।”
जिल्ला प्रशासनले कर्फ्यु अवधि थप्नुअघि माइकिङ गरेर नागरिकहरूलाई सचेत पारिसकेको थियो। तर, केही प्रदर्शनकारीहरूले यसलाई नमानी हिंसात्मक गतिविधि जारी राखेका छन्।
सुरक्षा अधिकारीहरूले कर्फ्यु उल्लंघन गर्नेहरू विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्। प्रहरीले कर्फ्यु क्षेत्रमा अतिरिक्त बल तैनाथ गरेको छ र CCTV मोनिटरिङ बढाइएको छ।
(रिपोर्ट: इप्रेस न्यूज नेटवर्क)

