काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिने व्यक्ति स्वयं ऋणको सदुपयोग गरी त्यसबाट आम्दानी गर्ने विषयमा गम्भीर हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
गभर्नर अधिकारीले ऋणीले एक पटक चालुपूँजी कर्जाबारे राम्रोसँग अध्ययन गर्नुपर्ने बताए। उनले उद्योगमा ३ करोड र व्यापारमा १ करोड रुपैयाँसम्मको कर्जामा चालुपूँजी कर्जा मार्गदर्शन लागू नहुने स्पष्ट पारे। यस विषयमा व्यवसायीले पनि बुझ्नुपर्ने उनको भनाइ छ।
बैंकहरूले राष्ट्र बैंकलाई देखाएर व्यवसायीलाई असहज गर्दा आर्थिक गतिविधिमा नै असर गरेको गभर्नर अधिकारीले बताए। उनले कर्जाको सही सदुपयोग गरी आम्दानी बढाउन व्यवसायीहरूलाई आग्रह गरे।

