काठमाडौं – सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आग्रह गरेको छ।
एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना नरहेको उल्लेख गरिएको छ। त्यसैले अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पार्ने कुनै पनि निर्णय नगर्न एमालेले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो।
एमालेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहभागी हुन पनि आह्वान गरेको छ। यसअघि नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएसँगै दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेका थिए।
यद्यपि औपचारिक रूपमा कुनै पनि दलले समर्थन फिर्ता लिएको पत्र संसदमा दर्ता गराएका छैनन्। तर, बुधबार एमालेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष बुझाएको राजीनामा स्वीकृत भइसकेको छ।

