काठमाडौं – नेकपा एकीकृत समाजवादीले आजदेखि सुरु हुने १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा भव्य र्याली निकाल्दै शक्ति प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा पार्टीका शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल लगायत हजारौं कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विभिन्न भेषभूषा र झाँकीसहितको र्यालीले काठमाडौंका विभिन्न भाग परिक्रमा गर्दै प्रज्ञा भवनमा समापन भएको थियो। र्यालीमा सहभागीहरूले पार्टीका झण्डा, ब्यानर र चुनावी चिन्ह अंकित टिसर्ट लगाएका थिए भने नारा र गीतले वातावरण गुञ्जायमान बनाएका थिए।
आजदेखि सुरु हुने महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोण, नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। एकीकृत समाजवादीले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने जनाएको छ।
देशभरबाट छानिएका १८०० प्रतिनिधिहरूले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्। एमालेबाट अलग भएर गठन भए पनि एकीकृत समाजवादीले एमालेकै निरन्तरताको रूपमा यसलाई १०औं महाधिवेशन भनेको छ।
महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ। यो महाधिवेशनले एकीकृत समाजवादीको आगामी राजनीतिक दिशा र भूमिकालाई निर्धारण गर्ने अपेक्षा गरिएको छ।

