ई-प्रेस मिडिया, चैत्र २०, २०८१
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विभिन्न आयाममा छलफल भएको छ।
भेटका क्रममा मन्त्री खड्काले रसियाली सरकारले नेपालको जनशक्ति विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यसप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले विगतमा सोभियत सरकारको आर्थिक सहयोगमा पनौती जलविद्युत् आयोजना निर्माण भएको स्मरण गर्नुभयो। साथै, नेपाल सरकारले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै यो महत्वाकांक्षी योजनालाई साकार पार्न रसियालगायत एसियाली मुलुकहरूको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड र हरित ऊर्जा जस्ता क्षेत्रमा लगानीका अवसरहरू रहेको भन्दै रसियाली कम्पनीहरूलाई त्यसतर्फ आकर्षित गर्न राजदूतमार्फत आग्रह गर्नुभयो।
जवाफमा, राजदूत नोभिकभले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा रसियाली पक्षको चासो र लगानीको सम्भावना रहेको बताउनुभयो। उहाँले रसियामा आयोजना हुने तीन महत्त्वपूर्ण कार्यक्रमहरू—जुनमा सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मेमा नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबरमा रसियन इनर्जी वीक—मा सहभागी हुन मन्त्री खड्कालाई निमन्त्रणा दिनुभयो।
यो भेटले नेपाल र रसियाबीचको ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
ई-प्रेस मिडिया

