‘ईद–उल–फित्र’ ले एकता र मानवताको सन्देश दिन्छ : उपराष्ट्रपति यादव

राजनीति हेडलाइन

काठमाडौँ, चैत्र १८, २०८१
ईप्रेस संवाददाता

उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले विभेदको अन्त्य र नकारात्मक भावनालाई निषेध गरेको बताएका छन् । ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उनले मानवता नै मानिसको मूल धर्म भएको र यसको संरक्षण आवश्यक रहेको उल्लेख गरेका छन् ।

इस्लाम धर्मावलम्बीहरूले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा छ । ‘इफ्तार’, रोजापछि नमाज र साँझका विशेष परिकार ग्रहण गर्ने अनुष्ठानले ध्यान र आत्मसंयम बढाउन सहयोग पुर्‍याउँछ, जसले आध्यात्मिकतालाई बलियो बनाउने उपराष्ट्रपतिको भनाइ छ ।

“‘ईद–उल–फित्र’ भाइचारा, मेलमिलाप र सामूहिक एकताको प्रतीक हो । यो पर्वले एकआपसमा मिलेर बस्न प्रेरित गर्नुका साथै असहाय, गरिब र सहयोगको खाँचो भएकाहरूलाई मद्दत गर्न उत्प्रेरणा दिन्छ । जीवनमा आशा, विश्वास, सत्यनिष्ठा, कर्मनिष्ठा र कर्तव्यनिष्ठाको सन्देश पनि यसले बोकेको छ,” उनले सन्देशमा भनेका छन् ।

धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा योगदान पुर्‍याउने बताउँदै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रूपान्तरण गरी सभ्य र सुसंस्कृत व्यक्तित्व निर्माणमा सहयोग गर्ने उल्लेख गरेका छन् । उनले यो पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा प्रेरणा दिने कामना गरेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रियतालाई बलियो बनाउन ‘ईद–उल–फित्र’ ले सबैलाई प्रेरित गर्ने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *