आर्थिक क्रियाकलापहरु विस्तारै चलायमान भएका छन् – अर्थमन्त्री

अर्थतन्त्र विचार-वार्ता

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक क्रियाकलापहरु विस्तारै चलायमान भएको बताएका छन। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री डा महतले उक्त कुरा बताएका हुन। उनले आफूले मन्त्रालय समाल्नुपूर्व र पछिको आर्थिक अवस्थाको बारेमा प्रष्ट पारे।

उनले वर्तमान अवस्थामा पूँजीगत खर्च तर्फ करीब ६.० प्रतिशत वृद्धिदर भएको बताए। मन्त्री महतले भन्सार महसुल तर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ करीब ७.१९ प्रतिशत, आयकर तर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्व तर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको बताए ।

त्यसैगरी वित्तीय क्षेत्र तर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंकदरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको जानकारी दिए।

अर्थमन्त्री महतले ब्याजदर क्रमशः घट्दै गएको बताए। उनले भने, हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा बाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशत रहेको छ। २०७९/ ८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८‍.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ।

त्यसैगरी उनले अर्थतन्त्रको वाह्य क्षेत्रका परिसूचकहरु अनुकूल बनेका बताउँदै गत असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब ले बचतमा रहेको, रु ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *