रास्वपाको राजनीतिक प्रतिवेदन छलफलविनै आज अनुमोदन हुने

राजनीति हेडलाइन

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि कुनै छलफल नगरिकनै आज अनुमोदन गरिने भएको छ। मंगलबारबाट काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको राष्ट्रिय भेलामा हिजो प्रदेश स्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, र संसदीय अभ्याससम्बन्धी प्रतिवेदनहरू पेस भएका थिए। ती प्रतिवेदनहरूमा आज सामूहिक छलफल गर्ने कार्यतालिका छ।

तर, पार्टी सभापति लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने कुनै छलफलको समय छुट्याइएको छैन। आज दिउँसो १:३० बजेपछि राजनीतिक दस्तावेज पेस गर्ने कार्यक्रम तोकिएको भए पनि छलफलका लागि समय नछुट्याइएको हो।

सभापतिले राजनीतिक दस्तावेज पेस गर्ने, अनुमोदन गर्ने, अभियानको घोषणा गर्ने, र महाधिवेशनको मिति तथा स्थान तोक्ने समय दुई घण्टा (दिउँसो १:३० देखि ३:३० बजे) मात्र तोकिएको छ। राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी भए पनि उनीहरूलाई राजनीतिक प्रतिवेदनमाथि कुनै टिप्पणी वा विचार राख्न नपाइने भएको छ।

यस प्रक्रियाले भेलामा सहभागी प्रतिनिधिहरूलाई सभापतिको राजनीतिक प्रतिवेदन अनुमोदन गरेर घर फर्किनुपर्ने अवस्था आउने भएको छ, जसले पार्टीको निर्णय प्रक्रियामा थोरै मात्र प्रतिनिधिको सहभागिता देखाउने संकेत गरेको छ।

ईप्रेस मिडिया, असोज २, २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *