नवरात्रको आठौँ दिन आज महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै

विचार-वार्ता हेडलाइन

काठमाडाैं । नवरात्रको आठौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असाेज २८ गते दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन कुष्माण्डाको  पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन  स्कन्दमाताको पूजा  गरियो । छैटौँ दिन कात्यायनी तथा सातौँ दिन कालरात्रि देवीको आराधना गरियो । 

बडादसैँको आठौँ दिन आज महागौरी देवीको विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *